अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध गराउदछ | शक्ति, सत्ता, सामर्थ्य र सम्पत्ति यी सबै कुराहरुमा पनि नियम त्यहि लागु हुने हो र बदलिदो समय अनुसार आफुलाई रुपान्तरण नगरेमा यी चिजहरुको पनि हविगत त्यो भन्दा फरक हुनै सक्दैन |
बगिरह्यो-जनताको आँशु:
झुपडीका सबै मानिस दास र दरबारका जति सबै मालिक ठान्ने प्रवृति बिरुद्द २००७ साल वरिपरिबाट उठेको स्वाभिमानको लडाई आज प्रयन्त जारी छ | समय र युग बदलियो, पात्र बदलिए, परिस्थिति बदलियो, सत्तामा उलट-पुलट आयो तर बदलिएन मानिसको दिमाक र हृदय | देश र दुनिया बदलियो, जीवनशैली बदलियो, बस्तुको उत्पादन र विनिमय बदलियो तर बदलिएन मानिसको चिन्तन र स्वभाव | बरु यो- भाइरसले वातावरण संग मिल्दो-जुल्दो हुनेगरी स्वभाव बदले जस्तै गरि पुस्ता देखि पुस्तासम्म बदलिदो रुपमा हस्तान्तरण हुदै गयो र नयाँ रुपमा शोषण र दमनलाई जारी राखिरह्यो | त्यसैले स्वाभिमान र मुक्तियात्राको लडाई बिभिन्न स्वरुपमा कायम रहिरहेकै छ |
शाषण र शाशकहरुको शोषण, हैकम, मनपरी र उनीहरुले सृजना गर्ने अत्यासलाग्दो वातावरणको बिचमा जब कुनै नयाँ हुल देखा परे, जनताले सजिल्यै पत्याए र उनीहरुलाई सत्तामा समेत पुरयाइदिए | तरपनि त्यो कुरा मानिसको लागि सर्प ब्याए जस्तै बन्न पुग्यो | घरको बलेद्री र करेशाबारिमा जति सर्प ब्यायपनि जोखिम बालबालिकालाई नै हुन्छ, त्यसरी नै जति शाषण सत्ता बदलिए पनि जनताको दुख र पिडा अन्त्य हुनुको साटो दिनहुँ बढ्दै गयो | यसरी जनताको नाममा राजनीति त धेरै भए यहाँ तर रुपान्तरण भने शून्यबाट एक कहिल्यै भएन |
जनता सधैं बस्तु जस्तै बनाइए | क्रान्तिको नाममा जनतालाई कहिले यता हुत्याइयो त कहिले उता, जसरि बस्तुलाई हुत्याईन्छ | पद्दतिहिन र स्वेच्छाचारी राणा शाषणको बिरुद्दमा क्रान्तिमा हुत्याईएका जनताको पछिल्ला पुस्ताहरु १७ साल, २८ साल, ३६ साल, ४६ साल, ५२-६२ को दशक हुदै आज प्रयन्त पनि क्रान्तिकै नाममा परिचालित हुने क्रम जारि छ | न त पुर्खाले त्यसको लाभ लिन पाए न तिनीहरुका पुस्ताले नै | लाभ लिए त केवल तिनै व्यक्तिहरु जो- भाइरसले स्वभाव फेरे जस्तै आफ्नो काँचुली र चरित्र फेर्दै गए, जीवनकालभरि सत्ताकै रस्वादनमा व्यस्त भए र जनताको बिचमा फेरी जनताकै छोरा-छोरीको मुकुण्डो लगाए | तर तिनीहरु कहाँ जनता थिए र ? उनीहरु त जनतालाई बस्तु-भाउ ठान्ने र त्यसकै जगमा टेकेर मुकुण्डो फेर्दै सत्तामै टिकिरहने सर्बसत्ताबादीहरु थिए |
जनता लड्दै गए, ज्यान गुमाउदै गए, तिनका पुस्ताहरुले आँशु बगाउदै गए अनि पुर्खाको बदला लिन पुस्ताहरु फेरी लड्दै गए र फेरी पनि ज्यान गुमाउदै गए | यसरि जनता कहिल्यै नटुंगिने लडाई, बलिदान, आँशु र बदलाको चक्रमा फस्दै गए तर आखिर के का लागि अनि कसका लागि भन्ने प्रश्न आज पनि नजवाफ छ |
के का लागि नयाँ शक्ति?
नेपालमा नयाँ शक्तिको कुरा गजबको मन्त्र जस्तै भयो | कसैको हकमा यो मन्त्र आत्मकेन्द्रित रुपमा आफ्नो अनेक ब्येक्तित्व भए जस्तो गर्ने साधन बन्न पुग्यो, कसैको हकमा यो मन्त्र नांग्लो ठटाएर हात्ती तर्साउने आधार बन्यो भने कतिपयको हकमा यो मन्त्र आफ्नो गुमनाम नाम र अनुहारलाई दुइ-चार वटा प्रिन्ट मेडियाको पृष्ठहरुमा छपाउने गजबको काइदा बन्न पुग्यो | तर कसैले पनि जबाफ दिएनन् कि इतिहास, बर्तमान र भविष्यमा समेत कहिल्यै नटुंगिने लडाई, बलिदान, आँशु र बदलाको चक्रको उचित बिकल्प के हो भनेर |
सर्पलाई सर्पमै रुपान्तरण गराउने नयाँ शक्तिको बहस आज पनि जारि छ | त्यस्तो खालको नयाँ शक्ति नेपालको लागि अर्थहिन र निकम्मा बाहेक अर्को हुनै सक्दैन | नयाँ शक्ति भनेर कसैले दुइ शब्द सामाजिक संजालमा राख्यो कि बहुचर्चित भनिएका नेपालका पत्रकार महोदयले हात-मुख नधुदै आफ्ना ट्वीटर र फेसबुक संजालमा अपलोड गरि आफ्नै उचाई घटाईरहेको दृस्टान्त बडो उदेकलाग्दो छ |
यदि तपाईहरुले भन्ने गरेको नयाँ शक्ति केहि मानिसहरुको टाउकाहरु यता-उता गर्ने कुरामा आधारित हो भने के यस्तो शक्ति नेपालमा हिजो थिएन र? भ्रष्ट शाशकहरु रुप बदल्दै नयाँ-नयाँ राजनीतिक बथानहरुमा त हिजो पनि घुसेकै थिए र आजपनि नघुसेका कहाँ हुन् र? त्यसोभए बहसमा जारि नयाँ शक्ति यो भन्दा फरक हो भनेर कसरि पुष्टि गर्न सक्नुहुन्छ? अनि तपाईहरुले भन्ने गरेको नयाँ शक्ति आखिर के का लागि? सर्पबाट सर्पमै वा सर्पबाट पुतलीमा रुपान्तरण हुने नयाँ शक्ति? यदि पुतलीमा रुपान्तरण हुने नयाँ शक्तिको कुरा हो भने जारी बहसमा तपाईहरुको तर्क गलत छ |
नयाँ शक्तिका बहसकर्तालाई मेरा एघार प्रश्न:
१. क्रान्तिकालमा सर्बहारा बर्गमा पर्ने एक जना क्रान्तिबिर सरकारमा पुगेपछि हुने उसको बर्ग रुपान्तरणको संकटलाई तपाईहरुको नयाँ शक्तिले कसरि सम्बोधन गर्न सक्छ?
२. दक्षिणतिर (भारतमा हुने घटनाक्रम) हावा लाग्दा नेपालमा नयाँ शक्तिको बहस चर्को स्वरमा उठ्ने र हावा शान्त भएपछी बहस पनि सेलाएर जाने कारण के?
३. नयाँ शक्तिले नेपालको अति सम्बेदनशील भू-राजनीतिक अवस्थामा आफुलाई कहाँनिर उभ्याउने हो र आक्रामक ढंगमा उदाइरहेका भारत र चीनको बाध्यात्मक अन्तरनिर्भरता र स्वाभाविक राजनीतिक प्रतिस्पर्धालाई सन्तुलनमा राख्ने सुत्र के हो?
४. ५० लाख भन्दा बढीको संख्यामा बाहिरिएको नेपालको उत्पादनशील युवा जनशक्तिलाई पांच बर्ष भित्रमा नेपालमा भित्र्याउने र उनीहरुलाई राष्ट्र-निर्माणमा लगाउने कार्यदिशा के हो?
५. पश्चिमबाट पूर्वतिर सर्दै गएको विश्वशक्तिकेन्द्र र बहु-ध्रुबमा विभाजित हुदै गैरहेको विश्वशक्ति सन्तुलनको बिचमा अपनाइने नेपालको विदेश नीति के हुने?
६. सिमा क्षेत्रमा भैरहने आतंक, नेपालीहरुले व्यहोर्दै गएको ज्यादती र नेपाली चेलीहरुलाई सिमा क्षेत्रमा गरिने बलात्कारको अन्त्य गर्ने रणनीति के हो?
७. नेपालका बेचिएका चेलीहरुको आत्मसम्मानका साथ् पुनर्स्थापना र उक्त समस्याको निर्मुलीकरणको उपाया के हो?
८. हजारौंको संख्यामा रहेका सडक बालबालिकाहरुको बाँकी जीवनको उचित व्यवस्था कसरि गर्ने र त्यस क्रममा उनीहरुलाई दिइने बाल-मनोपरामर्श कस्तो हुने? किनकि यो निकै जटिल प्रक्रिया हो |
९. विश्वका पहिलो र तेस्रो ठुलो आर्थिक शक्तिकेन्द्रको बिचमा रहेको नेपालको अर्थनीति कस्तो हुने, जसले नेपालको खरबौंको ब्यापार घाटा नाफामा पुर्याओस् र दोहोरो अंकको आर्थिक बृद्दिदर त्यसले कायम गरोस् |
१०. सधैं संक्रमणकालमा रहेको जस्तो देखिने नेपालको राजनीतिक अवस्थालाई हल गर्न कस्तो खालको “संक्रमणकालिन कुटनीति”को अबलम्बन गर्ने हो?
११. अनि नेपालको जातीय, क्षेत्रीय, बर्गीय, सामाजिक, सांस्कृतिक र लिंगीय विभेद र अन्तर-विभेदलाई निर्मुल गर्ने सुत्र के हो? र अवस्था अनुसार पैदा हुने संकट (Situational Crisis) लाई समाधान गर्ने रणनीति के हो?
यी एघार प्रश्नको जबाफ बिना नयाँ शक्तिको बहस व्यर्थ र निरर्थक छ |
भिडमा होइन, ‘ब्रेन’मा आधारित नयाँ शक्ति:
आजसम्म नयाँ शक्तिको बहस जसरि चल्यो, त्यो सारमा टाउकाहरु एता-उता पार्ने कुरा बाहेक अन्य संग सम्बन्धित भएको मलाई लाग्दैन | चर्का भाषण गर्नेहरु र मेडियालाई गलत तरिकाले गजबले प्रयोग गर्नेहरु रातारात लोकप्रिय हुने नेपालको राजनीतिमा तिनै ब्येक्तिहरुलाई नयाँ शक्तिको संस्थापक पदाधिकारीको रुपमा हेर्ने अभ्यास थालियो | नेपालका कुन-कुन राजनीतिक दलहरुमा को-को राम्रा मान्छेहरु छन् र समग्र समाजमा को-को ? भन्ने प्रश्नको जबाफ मात्र खोतल्नु नयाँ शक्तिको बहस चर्काउनु होइन | त्यो त केवल भिड जम्मा गर्ने र बिशाल जत्थाको नेता हुने कसैको महत्वाकांक्षा पुरा गर्ने बिषयसंग मात्र सम्बन्धित कुरा भयो | सवाल जत्थाको हो कि ‘ब्रेन’को ? किनकि जबसम्म बहुसंख्यक राजनीतिककर्मिको ‘ब्रेन’ सुद्द हुदैन, तबसम्म नयाँ शक्तिको नाममा उही पुरानै स्वार्थ, भ्रष्ट मनोवृत्ति र सत्ताकेन्द्रित असुद्द ब्रेनको छद्म साटफेर र लेनदेनको खेल बाहेक अर्को हुन सक्दैन | जबसम्म आम मानिसको ‘ब्रेन’बाट गलत प्रवृति र खराब आचरणसंग जोडिएका सबैखाले चिन्तनलाई अन्त्य गर्ने अनि त्यसको ठाउँ सुद्द हृदय, स्वच्छ मन र पबित्र चिन्तनले भर्ने अभियान र अभ्यास हुदैन, तबसम्म नयाँ शक्तिको रटान बेतुकको कुरा हुनेछ | रोग जरामा छ तर औषधी फलमा खन्याएर कसरि निदान हुन्छ उक्त रोग ? नेपाली राजनीतिको आम समस्या भनेकै मानिसको दिमाकमा हुनुपर्ने सुद्द हृदय, स्वच्छ मन र पबित्र चिन्तनको अभावको हो भने यहाँ कुरा गरिन्छ टाउका जम्मा गर्ने र नयाँ भिड देखाउने | यस्तो खालको नयाँ शक्तिको कुनै अर्थ छैन नेपालमा |
नेल्सन मण्डेला-जसले दक्षिण अफ्रिकालाई स्वतन्त्र पारे र तिब्र आर्थिक बृद्दिद्वारा उदाउदो शक्तिको रुपमा आफ्नो देशलाई उभ्याए | उनको २८ बर्षको जेल जीवनको क्रममा उनको सुद्द हृदय, स्वच्छ मन र पबित्र चिन्तनले गर्दा भिडले उनको दर्शनलाई पछ्यायो र आज विश्वकै नक्षेत्रको रुपमा उनि मरेर पनि बाँचेका छन् |
त्यसैले आज हरेक तप्का, बर्ग, क्षेत्र, दल, समाज र समग्र राष्ट्रमा नै सुद्द हृदय, स्वच्छ मन र पबित्र चिन्तनको रुपमा मानिसको ‘ब्रेन’ बदल्ने अभियान सुरु गर्नु अनिबार्य छ | त्यसको लागि कुन साधन, तरिका वा पद्दतिको बिकास र प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित हुन जरुरि छ-नयाँ शक्तिका बहसकर्ताहरु | निश्चय पनि नयाँ शक्तिको जरुरि छ नेपालमा तर त्यो टुट-फुट र खण्डित होइन, विरताले भरिएको एकत्रित शक्तिको रुपमा देखा पर्नु पर्दछ | जसका आम नेता, कार्यकर्ता, शुभचिन्तक र जनताको ‘ब्रेन’ गुटबादी र भिडबादी होइन कि सुद्द हृदय, स्वच्छ मन र पबित्र चिन्तनले भरिएको हुनुपर्दछ | तबमात्र माथि उठाइएका एघार प्रश्नको जबाफ आउने सम्भावना हुन्छ | अनि मात्र नयाँ शक्तिको गफ मात्र होइन कि काम र बास्तबिक परिणाम नै प्राप्त हुनेछ | अन्यथा नयाँ जन्मिने शक्तिले परिवर्तन हुन अटेर गर्नेहरुको अस्तित्व नामेट पार्नेछ र हामीले कल्पना गरे भन्दा पनि फरक तरिकाले देशको समृद्दी र जनताको स्वाभिमानको लडाई पुरा हुनेछ |
Source: https://nepalchurch.com/8993/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b6%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%ad%e0%a4%bf%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%bf/?fbclid=IwAR0ZjYdobsLy_PqikgxRzuu_dGjvHosLMu2xcCKCrNVbHC-eh-gjhM0QH8Q