अमेरिकी रणनीतिमा बाम बिग्रह: बाम पुनरोदय-मार्ग

-हरि प्रकाश चन्द “अग्निपुञ्ज”

स्थानीय निकायको निर्वाचनको सम्पूर्ण परिणाम लगभग आइसकेको छ । यो स्तम्भ तयार पार्दासम्म नेपाली कांग्रेस ३२८  स्थानमा विजय हाँशिल गरि पहिलो दल बनेको छ । नेकपा (एमाले) २०५ स्थानका साथ दोस्रो र नेकपा (माओबादी केन्द्र) १२१ स्थानका साथ तेस्रो दल बनेका छन् भने अन्य दलहरु निकै पछि रहेका छन् । चुनावी परिणामसंगै यसको अनेक कोणबाट विश्लेषण सुरु भएको छ । अनुमान बिपरितका परिणामले दलहरुलाई अब नयाँ ढंगले सोच्न र अपूर्ण व्यवस्था र प्रणालीलाई पूर्ण बनाउने चुनौती पेश गरिदिएको छ । मुलतः स्थानीय निर्वाचनलाई “बाम-पुंजिबाद” र “बाम-रुढिबाद” को समीकरणले भारी मात्रामा प्रभावित तुल्याएपनि परिणामले बामशक्ति र पुंजिबादी शक्तिलाई जनादेश प्राप्त भएको प्रष्ट पारेको छ ।

अलमलमा बाम: पुंजिबादी छद्म रणनीति

अनुमान बिपरित नेपाली कांग्रेसले धेरै स्थानमा जित हाँशिल गरि पहिलो दल बनिरहदा गठबन्धनकै नेकपा (माओबादी केन्द्र) र नेकपा एकीकृत (समाजबादी) लगायतका अन्य दलहरुको सोचे भन्दा कम स्थानमा भएको बिजयले नेपाली कांग्रेसको गठबन्धनप्रतिको इमान्दारितामा प्रश्न उठेको छ । यो स्वभाविक हो कि बिगतका मुख्य प्रतिस्पर्धी अझ स्पष्ट रुपमा भन्दा दश बर्षे युद्द कालमा भयाबह र त्रासको वातावरणमा बाँच्न बाध्य कांग्रेसका कार्यकर्ता र मतदाताले माओबादीलाई मत दिने सम्भावना थिएन । यसका बाबजुद पनि भरतपुर लगायतका ठाउँहरुमा अधिकांस कांग्रेस मतदाताले माओबादीलाई गरेको मतदानबाट उसले सम्मानजनक स्थानमा जित हाँशिल गरेको छ । अर्कातिर नेकपा (एमाले) बाट अलग भएर बनेको नेकपा (एकीकृत समाजबादी) ले धेरै ठाउमा गठबन्धनबाट धोखा खाएपनि पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकामा प्राप्त जित गठबन्धनकै उपज हो । समग्रमा भन्दा “बाम-पुंजिबादी” समिकरणको रुपमा देखा परेको पाँच दलीय गठबन्धनबाट पुंजिबादी शक्ति नेपाली कांग्रेसलाई फलिफाप भएको छ भने नेकपा (माओबादी केन्द्र) को शक्तिमा सुधार र नेकपा (एकीकृत समाजबादी) ले आफ्नो अस्तित्व कायम गर्न सफल भएको देखिन्छ ।

अब प्रश्न उठ्छ, “नेपाली कांग्रेसलाई कसरी यस्तो फलिफाल सम्भव भयो?” जबाफ स्पष्ट छ कि नेपालका बाम शक्ति अलमलमै परिरहे भने नेपाली कांग्रेसले बाम शक्तिको अलमलको अवस्थाबाट भरपुर फाइदा उठाउन कुटिल चाल चल्दै गयो ।

स्थानीय निर्वाचन घोषणा भएसंगै नेकपा (माओबादी केन्द्र) मा सबै भन्दा बढी अलमल देखियो । उसले कैयौं पटक निर्वाचन सार्नलाई सत्ता गठबन्धनको ठुलो घटक नेपाली कांग्रेसलाई बार-बार प्रस्ताव गरिरह्यो। एक्लै चुनावको सामना गर्ने आत्मविश्वासको कमीले कांग्रेससंग उसले दबाबपूर्ण शैलीमा आफुसंग कांग्रेसले गठबन्धन नगरे एमालेसंग गठबन्धन गर्ने धम्की दिइरह्यो र कांग्रेसलाई आफुसंगको गठबन्धनलाई स्वीकार गर्न बाध्य तुल्यायो । यहि अवस्थामा माओबादी केन्द्रका दोस्रो तहका नेताहरुले नेकपा (एमाले) का दोस्रो तहका नेताहरुसंगको  बार्तालापलाई पनि छद्म ढंगले अगाडी बढाइरहे । माओबादीको लागि बाम तथा कम्युनिष्ट बिचारधाराको रक्षा गर्नेतिर भन्दा नितान्त प्राबिधीक र व्यवहारिक राजनीतिको बढावा गर्ने बिषय प्रधान बन्न पुग्यो । यस अन्तर्गत उसले कुन शक्तिसंग गठबन्धनमा जाँदा आफुलाई बढी लाभ हुन्छ भन्ने कोणबाट मात्रै आफ्नो राजनीतिलाई अगाडी बढायो जुन कम्युनिष्ट बिचार र सिद्दान्तबाट बिचलित राजनीतिको वकालत गरेको प्रमाणको रुपमा रह्यो । नेपाली कांग्रेस पनि माओबादीको मनोबैज्ञानिक भयबाट मुक्त हुन सकेन । आफुले माओबादीलाई नसमेट्दा एमालेसंग गठबन्धनमा जाने र यो अवस्थामा देशैभर आफ्नो लज्जाजनक पराजय हुने त्रास कांग्रेसमा भैरह्यो । माओबादीमा देखिएको यो खालको स्थिरता र गतिशिलताबिचको अन्तर्द्वन्द नै गठबन्धनको एउटा कारक बन्न पुग्यो ।

पुर्व नेकपा (एमाले) को उच्च तहको शक्ति-बिन्यासमा एउटा शक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि ध्रुवीकृत हुदै गयो भने दुई पुर्व प्रधानमन्त्री सहित अर्को एउटा सानो शक्ति माधब नेपालको वरिपरि केन्द्रित हुदै गयो । अर्कातिर माधब नेपाल र प्रचण्डबिचको सम्बन्धले उनिहरु बिचमा पार्टी एकता सम्म हुन सक्ने अनुमानहरु पनि थिए। केपी ओलीप्रतिको आवेग र पुरानो एमाले शक्तिलाई एकढिक्का पार्न केपी ओलीमा देखिएको असावधानीले माधब नेपाललाई प्रचण्ड नजिक पुर्यायो । अर्कातिर नेकपा (एमाले) को शशक्त सांगठानिक संरचना र  शक्तिशाली जनाधार कब्जा गरी नेपालको बाम ध्रुबको एकल नेता बन्ने महत्वाकांक्षाका साथ एमाले संगको एकता प्रक्रियामा आइपुगेका प्रचण्ड आफ्नो रणनीतिमा विफल हुनुको पीडाले माधब नेपाललाई ओली बिरुद्द प्रयोग गर्ने अर्को रणनीतिमा प्रचण्डलाई पुर्यायो । यसरि कम्युनिष्ट ध्रुबमा देखा परेको चरम गुटबन्दी, रस्सा-कस्सी र तिब्र शक्ति-संघर्षको अवस्थालाई नेपाली कांग्रेसले आफ्नो शक्ति बिस्तार गर्न प्रयोग गर्यो ।

कम्युनिष्टहरु एकापसमा लड़िरहदा नेपाली कांग्रेस भने छद्म रुपमा आफ्नो कुटिल चाल चल्न व्यस्त रह्यो। यो पृष्ठभूमीमा नेपाली कांग्रेसले पाँच वटा गोटी चाल्न तर्फ केन्द्रित भयो । पहिलो: नेकपा (माओबादी केन्द्र) लाई एमालेसंगको गठबन्धनमा पुग्न नदिने । दोस्रो: कांग्रेस भित्रको संस्थापन इतर शक्तिलाई गठबन्धन बिरुद्द उभ्याउने । यो रणनीतिले माओबादीको ‘बार्गेनिङ्ग पावर’ लाई रक्षात्मक बनाउथ्यो । शेखर-गगन समुह यो अभियानका अभियन्ता बन्न पुगे । तेस्रो: संस्थापन पक्ष स्पष्ट रुपमा गठबन्धनकै पक्षमा उभिने । यो कुराले माओबादीलाई थप आतंकीत बन्नबाट रोक्थ्यो । चौथो: अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई आफु अनकुल परिचालन गर्ने । यस बारेमा बिस्तृतमा अर्को उप शिर्षकमा विश्लेषण गरिनेछ । यसले नेपालको कम्युनिष्टलाई कम्जोर बनाउन सजिलो हुन्थ्यो । पाँचौ: जहाँ-जहाँ कांग्रेस कमजोर छ, त्यहाँ-त्यहाँ गठबन्धनको सहारामा जित्ने र जहाँ-जहाँ कांग्रेस बलियो छ, त्यहाँ-त्यहाँ वा त एक्लै लड्ने वा भने त्यहाँको नेतृत्व गठबन्धनको भागमा परेमा आफ्ना उम्मेदवारलाई स्वतन्त्रबाट उठ्न लगाउने र जिताउने । यी पाँच आयामबाट गरेको नेपाली कांग्रेसको तयारीबारे नेपालका कम्युनिष्ट शक्तिले सम्भवतः कुनै भेउ पाउन सकेनन् र देश कम्युनिष्टमय भएपनि परिणाम भारी मात्रामा कांग्रेसको पक्षमा पुग्यो ।

नेकपा (एमाले) का आठ कमजोरी:

नेपाली कांग्रेसले छद्म रुपमा कुटिल चाल चालिरहदा अघिल्लो स्थानीय  निर्वाचनको सबै भन्दा ठुलो दल नेकपा (एमाले) ले  गरेको दावी र प्रचार पुरा हुन सकेन । बिपक्षी शक्तिलाई कम्जोर मुल्यांकन गर्नु र तल्लो निकायसम्म नै सहि सर्वेक्षणमा चुक्नु एमालेको पहिलो कमजोरी रहन गयो । २०७४ सालको स्थानीय निर्वाचनको बेलामा एमाले नेतृत्वले नाकाबन्दी बिरुद्द देशको पक्षमा लिएको अडानले भावनात्मक रुपमा धेरै नेपालीको मन जितेको थियो ।  त्यो पृष्ठभूमिमा तटस्थ मत नेकपा (एमाले) को पक्षमा परेको थियो ।  तर अहिले अवस्था अलि भिन्न थियो । करिव दुई-तिहाईको सरकार  पार्टी भित्रको चरम अन्तरसंघर्षको कारण पुरा अवधी चल्न नसकेपनि तत्कालिन नेकपाको नेतृत्वको हिसावले त्यसको अलि धेरै जस र अपजस एमाले अध्यक्ष केपी ओलीमा स्वतः आइहाल्थ्यो । बिपक्षीले पनि सोहि ढंगले चरम रुपमा घेराबन्दी गर्नु स्वाभाविक थियो ।  फलस्वरूप, आफु बलियो हुदा-हुदै पनि नेपाली कांग्रेस भन्दा एमाले १२३ स्थानले सानो दल  बन्न पुग्यो । यदि बिपक्षीलाई कम्जोर मुल्यांकन नगरी सहि सर्वेक्षण गरेको भए एमालेको रणनीति निश्चय नै फरक हुन्थ्यो र त्यो परिणाममा पनि झल्किन  सक्थ्यो।

गठबन्धनको आन्तरिक तयारी र यसको सफलताका आधारहरुको भेउ नपाउनु नेकपा (एमाले) को दोस्रो कमजोरी हो । गठबन्धन शक्ति बिचको आन्तरिक कमजोरीको कारण धेरै मत बदर हुने र त्यसको भरपुर फाइदा एमालेलाई हुने भन्ने आकलन कम्जोर साबित भयो । एकातिर २०७४ सालको गठबन्धनको अभ्यास २०७९ सम्म आइपुग्दा थप समृद्द र सबल भएको र अर्कातिर गठबन्धनप्रतिको एमाले दृष्टिकोण  २०७४ सालकै जस्तो हुनुको बिचको विरोधाभासमा एमाले फसेको देखियो । जति दल गठबन्धनमा सामेल भएपनि एमालेले एक्लै पराजित गर्छ भन्ने दावी सहि सर्वेक्षणको जगमा नहुनु पनि  यसैसंग जोडिएको कमजोरी पर्यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको रणनीतिमा बनेको महागठबन्धनलाई सजिलै अघि बढ्न दिनु नेकपा (एमाले) को तेस्रो कमजोरी बन्न पुग्यो । राजनीतिमा समकक्षी शक्तिलाई कमजोर तुल्याउन अनेक रणनीति र योजनाको खाँचो पर्छ । गठबन्धनलाई कमजोर मुल्यांकन गर्दा त्यो खालको रणनीति बनाउने तर्फ ध्यान जान सकेन । फलस्वरूप, गठबन्धन निर्वाध रुपमा अघि बढ्यो । जसले गर्दा नेकपा (माओबादी केन्द्र) र नेपाली कांग्रेसले झन्डै आधा ठाउँहरुमा गठबन्धनको कारणले जित हाँशिल गर्न सके ।

सहि उम्मेदवार छनोट गर्ने प्रक्रियामा पनि नेकपा (एमाले) चुकेको देखियो । एमालेका काठमाडौँ महानगरपालिका मेयर र उपमेयरले प्राप्त गरेको मत संख्याले यसलाई पुष्टि गर्छ । महानगर र उपमहानगरपालिकामा मेयरको उम्मेदवारले पराजय व्यहोर्नु र उपमेयरले जित हाँशिल गर्नुले पार्टी कतै उम्मेदवार छनोट प्रक्रियामा चुकेको हो कि भन्ने देखियो । यो एमालेको चौथो कमजोरीको रुपमा रहन गयो।

पूर्ववत जनप्रतिनीधिहरुको अलोकप्रिय कामले पनि एमाले दोस्रो हुनुको पाँचौ कमजोरी रहन गएको देखियो । जनताको मर्म र भावना मुताबिक काम गर्ने ठाउँहरुमा एमाले दोहोरिएर जित हाँशिल गरेको छ । तर जहाँ जहाँ जनप्रतिनीधिहरुले जनताको भावना अनुरुप काम गर्ने कुरामा कमजोरी गरे, ति ठाउँहरुमा एमाले पराजित भएको देखियो । त्यसैले जितपछि आफ्ना जनप्रतिनीधिहरुलाई जनतासंग जोडिने, जनतासंगै काम गर्ने र उनीहरुको दिनानुदिन आइपर्ने समस्या समाधानमा गम्भिरतापूर्वक लाग्ने कुरामा गरिने प्रशिक्षण, प्रेरणा, अनुगमन, गल्ती गर्दा  सचेत गराउने, र त्यति गर्दा पनि गल्ती दोरोर्याउनेहरुलाई उचित कारबाही गर्ने कुरामा कमी रहेको देखियो ।

चुनाव नजिकिदै गर्दा देशैभर एमाले प्रवेशको लहर त चल्यो तर त्यसको सहि व्यवस्थापनमा कतै कमी रहेको पनि देखियो । उम्मेदवार पाउने सर्तमा पार्टी प्रवेश गराउदा उम्मेदवार बनाउन नसक्दा नवप्रबेशीले तत्कालै दल त्याग गरेका घटनाक्रमले यसतर्फ संकेत गर्दछ । कतिपय ठाउँमा नवप्रबेशीलाई नै उम्मेदवार बनाउदा बर्षौ वा दशकौं देखि पार्टीमा योगदान गरेका नेता कार्यकर्ताहरुलाई चुनावको मुखमा आएर निस्क्रिय बनाइदियो ।  किनकि राजनीतिमा प्रेरणा सबै भन्दा ठुलो कुरा हो । प्रेरणा हराउदा मानिस स्वतः निस्क्रिय भैहाल्छ, यसलाई पार्टीको  कुनै पनि पद्दतीले रोक्न गाह्रो हुन्छ । त्यसैले चुनाव जित्ने गरि कदम चाल्नु त छदै छ ।  त्यसमा अझै योगदान र त्यागको उचित मुल्यांकन गर्ने कुरामा कतिपय ठाउँहरुमा पार्टी चुकेको देखिन्छ, जुन एमालेको छैटौं कमजोरी बन्न पुगेको छ ।

मूल नेतृत्व तहमा त गुटबन्दी समाप्त भयो । पार्टी नेतृत्वका समकक्षी नेताहरुले अर्कै दल बनाएसंगै उच्च तहमा गुटबन्दी अन्त्य भएको देखियो तर दोस्रो पुस्ता, तेस्रो पुस्ता र कार्यकर्ताको तहमा गुटबन्दी खतरनाक रुपमा मौलाएको देखियो । नेकपा (एकीकृत समाजबादी) को नेतृत्व निकट कैयौं नेता-कार्यकर्ताहरु एमालेमै रहे । उनीहरुलाई एमालेप्रतिको अपनत्वको भावनालाई थप मजबुत बनाउन सकिएन कि जस्तो देखियो । एमालेमै रहेका तर यस अघि माधब नेपाल निकट रहेका नेता कार्यकर्ताहरुमा शुषुप्त रुपमा रहेको कम्जोर मनोविज्ञानले कतिपय ठाउँहरुमा धक्का लागेको देखियो । त्यसैले पार्टी भित्र सबै तह र तप्कामा हुने गुटबन्दी अन्त्य गर्ने तर्फ पार्टीको ध्यान नपुगेको देखियो जसको परिणाम पोखरा, बुटवल, भरतपुर लगाएतका ठाउँहरुमा देखियो । यो कुरा पार्टीको सातौँ कमजोरीको रुपमा रह्यो ।

दलले अव बिचार गर्नुपर्ने सबै भन्दा महत्वपूर्ण कुरा भनेको दलीय पद्दतीले गर्दा कुनै पनि दल निकट बन्न नसक्ने तर देशको निम्ति केहि गर्ने हुटहुटी भएका समाज र राष्ट्रमा स्थापित व्येक्तिहरुलाई कसरी समेट्ने भन्ने बिषय प्रधान बनेर आयो । हरेक स्वतन्त्र व्येक्तिलाई दलकै छातामुनी नहुदासम्म उपयुक्त ठाउँ नदिने दलीय पद्दतीमा गम्भिरतापूर्वक हेरफेर गरिनुपर्छ भन्ने संदेश यो निर्वाचनले दिएको छ । काठमाडौँ र धरानले यो कुराको संकेत गरेको छ भने जनकपुर र धनगढीले जनतामा स्थापित व्येक्ति पार्टी त्याग गरेर स्वतन्त्रै रुपमा चुनावमा जादापनि जनताले जिताउछन भन्ने कुराको संकेत गरेको छ । यसबाट प्रष्ट हुन्छ कि सांगठानिक संरचना र दलीय निर्णय भन्दा जनताको शक्ति धेरै माथि हुन्छ र यस्तो शक्ति खास खास अवस्थामा मात्रै प्रकट हुने गर्दछ । यो खास अवस्थालाई दलहरुले समयमै सम्बोधन गर्न जरुरी देखिन्छ ।  नेकपा (एमाले) ले समाज र राष्ट्रमा स्थापित यस्ता स्वतन्त्र तर प्रभावशाली व्येक्तिहरुको पहिचान गर्न जरुरी थियो, जुन हुन सकेन ।  यो आठौ कमजोरीको रुपमा रहन गयो । यावत कमजोरी र भब्य चुनौतीका बाबजुद पनि नेकपा (एमाले) पहिलो बाट शशक्त दोस्रो दलको रुपमा उदाउन सक्नु एमालेको लागि विजयको कुरा हो । कमजोरीबाट पाठ सिक्ने र जनतामा प्रभावशाली रुपमा स्थापित हुने हो भने फेरी आउने चुनावमा पहिलो दल बन्ने सम्भावना पनि बलियो देखिन्छ ।

“बाम विग्रह” अमेरिकी रणनीति बमोजिम

विश्लेषणले पछिल्लो पटकको नेपालको बाम आन्दोलनको बिग्रहमा अमेरिकाको रणनीतिक योजनाले अप्रत्यक्ष रुपमा काम गरेको बताउछ । यसका आधारहरु यहाँ प्रष्ट पार्ने कोशिश गरिएको छ ।

नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) मिलेर बि स २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भयो । यहाँको राष्ट्रिय परिस्थितीले दुई ठुला दललाई नेकपा बनाउन प्रेरित गरेको भएपनि भूमण्डलीकरणको युगमा अन्तर्राष्ट्रिय आयाम र कारक छैन भन्ने बिषय सुहाउदो होइन । नेकपा बन्नुको अन्तर्राष्ट्रिय उत्प्रेरकको रुपमा कतिपयले चिनलाई लिने गर्दछन । हस्तक्षेपकारी भूमिका नभएपनि नेकपा बन्नुमा कहिँ न कतै चिनको कुनै भूमिका छैन भन्ने कुरा सत्य होइन । यो तथ्य राम्रैसंग बुझेको अमेरिका नेकपाको बिग्रहको लागि उचित समय हेरेर बसेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टी बिचको भाइचारा सम्बन्ध बिस्तारै खुल्ला रुपमा देखिदै गयो । उच्च-स्तरीय प्रतिनीधि मण्डलको आदान-प्रदान देखि पार्टी तहमा दुई-पक्षीय सिकाई साझा गर्ने कार्यक्रमहरु आयोजना हुदै गए।  नेपालको भूराजनीतिमा अमेरिका र भारत भन्दा  चिनिया राजदुतको सक्रियता सघन बन्दै गयो ।  यी सब परिस्थितिलाई नजिक बाट नियालीरहेको अमेरिकाले नेपालको कम्युनिष्ट शक्तिलाई बिग्रहमा पुर्याउने रणनीति बनाउन थाल्यो । त्यसको लागि उसले तत्कालिन अवस्थामा नेपालको संसदमा विचाराधीन रहेको एम सी सी को जगमा टेकेर नेपालमा आफ्ना गतिबिधी तिब्र बनाउदै गयो । यसलाई संसदबाट पारित गराउन अमेरिकी दुतावासले सम्पूर्ण राजनीतिक दलसंगको भेटघाट, वार्तालाप र पैरवीलाई तिब्र बनाउन थाल्यो । दलसंग मात्रै होइन, त्यो भन्दा बढी उसले नेपालको संचार र बौद्दिक जगतलाई भरपुर मात्रामा परिचालन गर्दै गयो ।

यो प्रक्रियामा उसले नेपाली समाजको भित्री पाटाहरुलाई अझै मसिनो गरि केलाउने अवसर पायो भने राजनीतिक दल र तिनका नेताहरुको कसको के स्वभाव र कमजोरी छ भन्ने कुरा नजिकबाट अध्ययन गर्ने मौका पायो । पंचायती कालको जस्तो नेपालको आन्तरिक सुचनाको प्रणाली मजबुत थिएन।  कमजोर सुचना प्रणालीको भरपुर फाइदा उठाएर उसले बिशेष गरि नेकपा भित्रको पुर्व एमाले र पुर्व माओबादी समुहको र त्यसका नेताहरुको सबल र कमजोर पक्ष नजिकबाट अध्ययन गर्दै गयो एम सी सी को आवरणमा । उसले केपी ओली र प्रचण्डको व्येक्तिगत स्वभाव, कमजोरीहरु र सवल पक्ष सबैको अध्ययन पछि यी दुईलाई अलग गराउने र नेकपाको बाम शक्तिमा बिग्रह ल्याउने योजना बनाउदै गयो । त्यसको लागि कुनै न कुनै आधारमा टेक्नुपर्थ्यो, उसले ओली र प्रचण्डबिच भएको भनिएको भद्र सहमतीको कमजोर पृष्ठभूमिमा टेकेर दुवै तिर उचाल्ने कार्यहरु छद्म रुपमा संचालन गर्दै गयो । यस्ता कुराहरुको देखाउन मिल्ने प्रमाण हुने गर्दैन र भएपनि सर्वसाधारण सम्म यस्तो प्रमाणको पहुँच हुदैन तर राजनीतिक परिस्थिति कता जादै छ भन्ने कुराले यस्तो विश्लेषण गर्न बाध्य तुल्याउछ । २०७७ को मंशिरमा प्रधानमन्त्रीमा आलो-पालो गर्ने भद्र सहमती छोडेर पाँचै बर्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा कार्य गर्ने भनि प्रचण्डले गरेको घोषणा लगत्तै पुनः प्रचण्डबाट ओलीबिरुद्द देखा परेको घेराबन्दीले बाह्य शक्तिको उक्साहट र चलखेललाई थप पुष्टि गर्दछ ।

नेकपाको शिर्ष नेतृत्वबिच बाह्य शक्तिले  खेल्दै छ भन्ने सुइँको समेत पार्टी नेतृत्वलाई कतिपय अवस्थामा हुने गर्दैन किनकि उसले नेतृत्व वरिपरिकै मान्छेलाई प्रयोग र परिचालन गरिदिन्छ जुन कुरा नेतृत्वलाई थाहा हुने गर्दैन । यो बिचमा पार्टी भित्रै प्रचण्डलाई उचाल्ने एउटा समुह र ओलीलाई उचाल्ने अर्को समुह छद्म रुपमा सक्रिय भए । ति दुवै समुह कुनै न कुनै रुपमा बाह्य शक्तिको उही केन्द्रबाट प्रभावित भएको देखिन्छ ।  बाह्य शक्तिले दुवै समुहलाई ‘तपाईकै समुह बलियो हुनुपर्छ र अर्को समुह समाप्त हुनुपर्छ’ भनेर भन्ने गर्छ । दुवै समुह आफुलाई मात्रै सहयोग गरिरहेको भ्रममा पर्छन तर दुवैतिर खेलिरहेको ति समुहलाई थाहा हुदैन । अनि ति समुहहरु निर्वाध रुपमा आफ्नो नेतालाई थप वलशाली बनाउन उद्दत हुन्छन । दुवै समुहको यस खालको गतिबिधीले पार्टी भित्रको अन्तरसंघर्ष थप पेचिलो बन्दै गयो । प्रचण्ड र ओली दुवैको आफ्नो रणनीति पुरै सफल नहुदा पार्टीको एकता कम्जोर भएको अर्को आन्तरिक कारण त छदै छ तर बाह्य शक्तिको यो छद्म  चलखेल नेकपा बिग्रहको प्रधान कारण बन्न पुगेको छ । यस्तो चलखेलले नेताहरुको दुरी बढाउदै लैजाने, एक-अर्काबिरुद्द बदलाको शृंखला चलाउदै जाने, एक-अर्काबिरुद्द गम्भीर आरोप लगाउदै जाने, एक-अर्कालाई समाप्त पार्ने गतिबिधी बढ्दै जाने जस्ता गतिबिधीहरु तिब्र पार्दै लग्यो ।

बिग्रह पछाडीका अमेरिकी स्वार्थ

सबै भन्दा प्रधान स्वार्थ भनेको चिनको भूमिकामा भएको भनिएको पार्टी एकता पछिको नेकपाको गठन उसलाई पाच्य भएको थिएन। चिनलाई जबाफ दिन अमेरिकाले नेकपा बिघटन गराउनुको बिकल्प थिएन । नेकपा बिघटन हुन लाग्दा अमेरिका जति खुसी थियो, त्येत्तिकै रुपमा चिन चिन्तित रहेको कुरा पहिलो पटक संसद बिघटन लगत्तै उच्च स्तरीय चिनिया प्रतिनीधि मण्डलको नेपाल भ्रमणले बताउछ ।

दोस्रो: नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी त भयो तर त्यस अन्तर्गतका परियोजनाहरु सुरु हुन सकेनन्।  नेपालमा बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतका परियोजना कार्यान्वयन हुदा नेपालमा चिनिया प्रभाव भयाबह ढंगले बढ्ने र त्यस्तो प्रभावबाट भारत, दक्षिण एसिया र हिन्द महासागरलाई समेत जोगाउन नसकिने हुदा अमेरिकाले जसरि पनि बेल्ट एण्ड रोड इनिसियटिभलाई रोक्नु पर्थ्यो । त्यसको लागि मजबुत कम्युनिष्ट पार्टीमा बिग्रह ल्याउनु अनिबार्य थियो, किनकि कम्युनिष्ट पार्टी मजबुत हुदा कुनै पनि बेला रेल लगायतका चिनिया परियोजनाहरुलाई नेपालले अघि बढाउन सक्थ्यो ।  यो सम्भावना अन्त्य गर्न नेपालमा कम्युनिष्ट शक्तिलाई छिन्न भिन्न पारेर प्रतिपक्षमा पुर्याउने र गठबन्धनको सहारामा नेपाली कांग्रेसलाई एकल बहुमतको अवस्थामा पुर्याउनु अनिबार्य थियो । चुनावको सम्मुखमा नेपाली कांग्रेसले चालेको कुटिल चाल यहि रणनीतिसंग सम्बन्धित छ । आउदो प्रदेश र संघीय निर्वाचनमा पनि यहि गठबन्धन कायम गरि नेपाली कांग्रेसले एकल बहुमत ल्याउने स्थिति बन्यो भने अचम्म मान्नु पर्दैन । किनकि सजिलै गरि प्रयोग हुन सक्ने प्रचण्डको कमजोरी अमेरिकाले धेरै राम्रो संग बुझेको छ । प्रचण्डलाई बिशेष गरि नेपाली कांग्रेसलाई पहिलो दल मात्रै होइन, एकल बहुमतमै पुर्याउने रणनीतिमा अमेरिकाले प्रयोग गरिरहेको देखिन्छ जुन कुरा स्वयम् प्रचण्डलाई समेत थाहा नहुन सक्छ ।  एम सी सी लाई संसदबाट अनुमोदन गराउदा प्रचण्डलाई अमेरिकी अधिकारीबाट आएको धम्कि यहि रणनीतिसंग जोडिएको छ । गठबन्धनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने र अरु सहभागी दललाई रक्षात्मक अवस्थामा पुर्याई नेपालमा नेपाली कांग्रेसको एकल बहुमतको सरकार बनाउनु यतिबेलाको अमेरिकी प्रधान चासो हो । नेपाली कांग्रेसको एकल बहुमत हुदा अमेरिकाले नेपालमा आफुले चाहेको सबै गतिबिधी गर्न पाउने भयो ।  नेपाली कांग्रेस नेपालको परराष्ट्र नीतिमा दृढ नहुदा त्यसको भरपुर फाइदा अमेरिकाले उठाउने देखिन्छ । केहि दिन अघि भएको अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमणको क्रममा राजधानी स्थित एक तिब्बती शरणार्थी शिबिरमा गएर भेटघाट गरेको कुराले यस तर्कलाई बल पुर्याउछ, जुन कुरा नेपालको विदेशनीतिको मूल मर्म बिपरित छ ।

अर्को महत्वपूर्ण कुरा भनेको नेपालमा अमेरिकाले एम सी सी को सफल कार्यान्वयन चाहन्छ, त्येहिपनि उसको आर्थिक र रणनीतिक स्वार्थ पुरा हुने गरेर । एम सी सी कै बिषयमा नेपालमा बिगत पाँच बर्षमा भएको बहस र रस्सा कस्सीलाई उसले नजिकबाट नियाल्लेको छ । नेपालका बाम शक्ति एम सी सी को पक्षमा जसरि उभिएपनि बामपन्थी सरकारको पालामा एम सी सी संसदबाट पारित नहुनुले उसले बाम शक्तिलाई शंकाकै दृष्टिकोणबाट हेर्ने गर्छ । त्यसैले पनि बाम शक्तिलाई बिश्वासमा लिदै एउटा निश्चित दुरीमा राख्ने र नेपालमा नेपाली कांग्रेसको एकल बहुमतको सरकार स्थापना गर्ने कुरामा भूमिका खेल्नु उसको अबको प्रधान रणनीति हो ।

पुनरोदयको बाटो

अघिल्लो स्थानीय निर्वाचनले पहिलो दल बनाइदिएको र संघीय संसदको निर्वाचनमा नेकपा (माओबादी केन्द्र) संग कार्यगत एकता गरि पहिलो दल बनेको नेकपा (एमाले) पुनः पहिलो दल बन्न सम्भव छ । त्यसरी नै पुंजिबादको कुटिल चालमा फसेको नेकपा (माओबादी केन्द्र) लाई महत्वपूर्ण शक्तिका साथ बाम शक्तिमा ध्रुविकृत हुन पनि सम्भव छ । तर त्यसको लागि पुरानो बुझाई, तरिका, पद्दती र रणनीतिले काम नगर्न सक्छ । यहाँ उल्लेखित बुँदाहरु उपयोगी हुन सक्छन।

१) बाम-पुंजिबादी समीकरणबाट नेकपा (माओबादी केन्द्र) ले गम्भीर रुपमा आत्म-समिक्षा गरि आफुलाई शुद्द बाम शक्तिको रुपमा उभ्याउने प्रण गर्ने । यस्तो खालको समीकरणबाट पछि नहटे स्वयम माओबादी सैद्दान्तिक रुपमा नव-पुंजिबादी शक्तिमा रुपान्तरण हुने खतरा छ । स्थानीय निर्वाचनमा उसले आफ्नो घोषणापत्र नबनाउनु र नेपाली कांग्रेसकै पुंजिबादी घोषणापत्रलाई स्वीकार गरेको सन्देश दिनुले यो कुरालाई बल पुर्याउछ ।

२) दुवै कम्युनिष्ट शक्तिले गम्भीर आत्मा-समिक्षा गरि एक-अर्कालाई लगाएका आरोपहरु बिनासर्त फिर्ता लिने र सहकार्यको वातावरण तयार गर्ने ।

३) नेकपा (एमाले) ले राप्रपा (नेपाल), परिवार दल लगाएतसंग गर्न खोजिएको समीकरण अर्थात बाम-रुढिबादी समीकरण (Left Conservative Alliance) को गम्भीर समिक्षा गरि त्यसबाट पछि हट्ने ।

४) अतिरन्जित तवरमा गरिने अनाबश्येक प्रशंशा र उक्साहटको बहु-आयामिक तवरबाट विश्लेषण गर्ने र नबहकिने ।

५) उम्मेदवारी छनोट गर्दा आधारभूत तहमै बिधीसम्मत तवरबाट स्वच्छ प्रतिस्पर्धा गराएर श्रेष्ठतम व्येक्तिलाई उम्मेदबार बनाउने । यसो गर्दा अन्तर्घात हुने सम्भावना न्यून हुन्छ । केन्द्रबाट वा पार्टी कमिटीबाट तोकिदिदा सम्भावित अन्य उम्मेदवारको मनोविज्ञान कमजोर हुन्छ भने सो कुरा मतदान प्रक्रियामा आएर प्रकट हुने गर्दछ भन्ने कुरा यो स्थानीय निर्बाचनले पुष्टि गरेको छ ।

६) समाज र देशमा स्थापित उर्जाशील मानिसहरुलाई दलीय पद्दति भन्दा बाहिर राखेर बिभिन्न निकायको नेतृत्व गर्ने ठाउँमा पुर्याउन आवश्येक बिधी तय गर्ने । अन्यथा दलीय पद्दतिलाई नै चुनौती दिएर देशमा भविष्यमा सैयौं हर्क साम्पाङ्गहरु जन्मिने शिलशिला अझै बलियो हुन सक्छ ।

७) चुनावको १५ दिन वा एक महिना अगाडी नभएर कम्तिमा पनि २ बर्ष अघि उम्मेदवार को हो भनेर जनताले थाहा पाउनु पर्छ । त्यसो हुदा एकातिर जनताले आफ्ना उम्मेदवारको सबल र कम्जोर पक्षबारे अध्ययन गर्ने भरपुर समय पाउछन भने अर्कातिर उम्मेदवारले पनि अनुसन्धानमा आधारित भएर आफ्नो योजना तथा कार्यक्रम तय गर्ने प्रशस्त समय पाउछन । यसको लागि उचित बिधी तय गर्नु नितान्त जरुरी छ ।

८) जनताको मुद्दामा संबेदनशील नहुने र भ्रष्टाचार लगाएतका गलत कार्यहरुमा संलग्न जन-प्रतिनीधिहरुलाई स्थानीय तहमै महाभियोग लगाउने व्यवस्था वा प्रत्याआह्वानको व्यवस्था गर्ने ।

९) हरेक तिन महिनामा आफ्नो घोषणापत्र अनुसार काम भैरहेको वा नभएको बिषयमा जनतासंग सार्बजनिक सुनुवाईको व्यवस्था गर्ने । त्यसो हुदा बिराएको बाटो सच्चिने र घोषणा गरेका कुरा पुरा गर्नलाई थप रणनीति बनाउन सजिलो हुने गर्छ ।

१०) हरेक स्थानीय तहमा बजेटको उचित सदुपयोग भएको वा नभएको बिषयमा हरेक ३-३ महिनामा अध्ययन र नियमित छानबिन गर्न/गराउनलाई सार्बजनिक लेखा परिक्षण गर्ने व्यवस्था गर्ने र त्यसको लागि खुल्ला प्रतिस्पर्धाबाट अधिकार सम्पन्न सार्बजनिक लेखा परिक्षण समुह तयार गर्ने ।

११) कुनै पनि जनप्रतिनीधिले भ्रष्टाचार गरेको प्रमाणित भएमा उक्त रकम निजको चल-अचल सम्पत्तीबाट असुल उपर गर्ने व्यवस्था गर्ने र कानुनी कारबाहीको प्रक्रियालाई थप प्रभावकारी बनाउने ।

१२) हरेक स्थानीय तहमा बिकास र समृद्दीसंग जोडेर ‘खुल्ला परियोजना बैंक’ को स्थापना गर्ने र निश्चित संख्यामा उत्कृष्ट परियोजनालाई पुरष्कृत गरी रकम उपलब्ध गराउने ।

१३) हरेक स्थानीय तहबाट हरेक बर्ष कम्तिमा २/२ जना (महिला र पुरुष) व्येक्तिलाई भिन्दा भिन्दै बिषयको अध्ययन/अनुसन्धान गराउन अन्तर्राष्ट्रिय तहको शिक्षा हाँशिल गराउन छात्रवृत्तीको व्यवस्था गर्ने र फर्केपछि निशर्त रुपमा उक्त स्थानीय तहको सेवा गर्ने वातावरण मिलाउने ।

१४) हरेक बर्ष बिभिन्न क्षेत्र निर्धारण गरेर ति क्षेत्रहरुमा उत्कृष्टता हाँशिल गर्ने नागरिकहरुलाई स्थानीय पालिकाको नाम उल्लेख गरेर ‘अवार्ड’ घोषणा गर्ने । जस्तै: छत्रेश्वरी गाउपालिकाको हकमा “छत्रेश्वरी शैक्षिक अवार्ड”, “छत्रेश्वरी कृषी अवार्ड”, “छत्रेश्वरी पर्यटन अवार्ड” आदि ।

१५) नेपालमा तिन तहको सरकारको कार्यकारी प्रमुख निर्बाचन हुने पद्दती असंगत र अमिल्दो छ । केन्द्रमा र प्रदेशमा संघीय  सभा र प्रदेश सभाको जम्मा सदस्य संख्याको बहुमत प्राप्त व्येक्ति कार्यकारी प्रमुख हुने व्यवस्था छ भने स्थानीय तहमा सिधै जनताबाट निर्बाचित हुने कार्यकारी प्रमुखको व्यवस्था छ । यो त्यसैले असंगत र अमिल्दो छ । हामीले विश्वको बिभिन्न अभ्यासबाट पाठ सिक्ने हो तर जस्ताको तस्तै नक्कल गर्ने कुरा व्यवहारिक र बैज्ञानिक हुदैन । यस्तो असंगत पद्दतीले ‘बालेन’ र ‘हर्क साम्पाङ्ग’हरुको उदयलाई स्थानीय तहमा स्वीकार गर्ने तर प्रदेश र केन्द्रमा अस्वीकार गर्ने गरेको छ । त्यसको लागि प्रदेश र केन्द्रमा पनि जनताबाट निर्बाचित कार्यकारी प्रमुख हुने व्यवस्था हुनुपर्दछ । यसो नहुदासम्म देश अस्थिरताको चंगुलमा फसिरहने स्थिति बन्छ । संसदबाट कार्यकारी प्रमुख चुनिने संसदीय व्यवस्था त सर्बोच्च अदालतको परमादेशले प्रधानमन्त्री हटाउने र नियुक्तीको आदेश दिने कुराले खण्डित भैसकेको छ ।  त्यसैले अव जनताबाट चुनिने कार्यकारी प्रमुखको व्यवस्थाको वकालत र स्थापना मूल मुद्दा बन्नुपर्छ ।  यसो हुदा बिदेशी शक्तिहरुको खल्ने ठाउँ पनि बन्द हुन्छ र अस्थिरताबाट देशलाई मुक्त गर्न सम्भव हुन्छ ।

१६) बाम शक्तिले नेपालको संसदबाट एम सी सी पारित भैसकेको अवस्थामा अब यसलाई रोक्न खोज्दा अर्को दुर्घटना हुन्छ तरपनि अमेरिकाले यस मार्फत नेपालबाट प्राप्त गर्न खोजिरहेको रणनीतिक स्वार्थलाई रोक्न बाम शक्तिले शंकल्प गर्नुपर्दछ । अमेरिकाको रणनीतिक स्वार्थ पुरा गर्ने हतियार बन्दा देशले भयाबह मुल्य चुकाउनु पर्नेछ।

१७) यसको लागि नेपालका बाम शक्ति (नेकपा (एकीकृत समाजबादी) सहित) फेरी पनि एक ठाउँमा आउन अनिबार्य छ । त्यसको लागि ढिला नगरी सम्बादको थालनी गर्न आवश्येक छ र यसो हुदा मात्रै बैदेशिक शक्ति केन्द्रको रणनीतिका बाबजुद पनि नेपालमा बामशक्तिको पुनरोदय सम्भव हुनेछ ।

चन्द अन्तर्राष्ट्रिय सम्बन्धका अनुसन्धानकर्ता हुनुहुन्छ ।

श्रोत:

https://chakrapath.com/newsdetails/53188

https://chakrapath.com/newsdetails/53776

Share

Add Your Comments

Your email address will not be published. Required fields are marked *