के नेकपा बिभाजन होला? भए को कहाँ पुग्ला?

हरि चन्द ‘अग्निपुन्ज’
कार्तिक १७ गते २०७७ मा प्रकाशित

सत्तासिन दल नेकपाको आन्तरिक किचलोले फेरी एक पटक नेपालको राजनीतिक बजार तताएको छ। उसो त बजार तताउने क्रम भने पहिलो पटक होइन। सन् २०१८ मे को १७ तारिकमा एकता प्रक्रिया सम्पन्न भएदेखि कैयौं उत्तर-चढावका बीच नेकपा गुज्रिसकेको छ। निरन्तरतामा कुनै क्रमभंगता आएन भने यस्तो गुज्रने क्रम जारी नै रहनेछ र पार्टी अध्यक्षहरु मध्य एकले अर्कालाई निल्ने, निल्न नसके गलाउने, थकाउने र आफु सधैं शक्तिशाली अध्यक्ष कायम भैरहने प्रक्रिया जारी रहनेछ।

के थियो ? एकताको पृष्ठभूमी :

सन् २०१७ को मे १४, जुन २८ र सेप्टेम्बर १८ गरि ३ चरणमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले तत्कालिन नेकपा (माओबादी केन्द्र) मा ठुलो हलचल ल्यायो। त्यस्तो हलचल नेकपा (एमाले) मा पनि नल्याएको होइन तर नेपाली कांग्रेस र नेकपा (माओबादी केन्द्र) कैयौं ठाउँमा गठबन्धन गरेर जाँदा पनि नेकपा (एमाले) नै पहिलो भएपछि अलि बढी बेचैनी माओबादी (केन्द्र) मा आएको थियो। कांग्रेस र तत्कालिन माओबादीको गठबन्धनलाई पनि तत्कालिन नेकपा (एमाले) ले उछिनेको थियो। १४,०९९ स्थानमा विजय हासिल गरि तत्कालिन नेकपा (एमाले) पहिलो भयो भएको थियो भने ११४५६ स्थानमा विजय हाँशिल गरि नेपाली कांग्रेस दोस्रो र ५४४१ स्थानमा विजय भै तत्कालिन नेकपा (माओबादी केन्द्र) तेस्रो स्थानमा सिमित भएको थियो। यो पृष्ठभूमिमा तत्कालिन माओबादीलाई परिणामले बढी बेचैनी ल्याएको यथार्थ थियो।

यस्तो बेचैनी तत्कालिन नेकपा (एमाले) मा पनि आएको गलत होइन। किनकि प्रचण्ड नेतृत्वको माओबादी फेरी पनि कांग्रेससंग गठबन्धन गरि संघीय सभाको निर्बाचनमा होमिएको खण्डमा नेकपा (एमाले) प्रतिपक्षमा सिमित हुनसक्ने खतरा कायमै थियो। अर्कातिर आफ्नो नेतृत्वको सरकार ढाल्न प्रचण्डलाई नेपाली कांग्रेसले पर्योग गरेको कुरालाई केपी ओलीले बिर्सेका थिएनन्। प्रयोग गर्न पनि र प्रयोग हुन पनि एकातिर प्रचण्ड माहिर र अर्कातिर इगो साँध्न र उचित समयमा उचित तरिकाले बदला लिन माहिर ओलीको स्वभावको कारण नेकपा एकता सम्भव भएको रणनीतिक कारणबारे कतिपयलाई अझैं थाहा नहुन सक्छ। जसरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रयोग गरि ओलीको पहिलो सरकार ढाल्न सफल भए, त्यसरी नै उनै पात्रलाई प्रयोग गरि, चुनावी गठबन्धनका साथ नेपाली कांग्रेसलाई भित्तामै पुर्याउन ओली सफल भए। अरु राष्ट्रिय- अन्तर्राष्ट्रिय कारण र कारक तत्व जे देखिएता पनि यो ‘इगो’ फ्याक्टर नै नेकपा बन्नुको पहिलो कारण थियो।

के थिए निहित रणनीतिहरु ?

प्रचण्डको माओबादी स्थानीय चुनावको परिणामसंगै सुरक्षित भविष्यको खोजि गर्दै शक्ति संचयको आधार तयार गर्ने ध्याउन्नमा लाग्यो। त्यसको सबै भन्दा उपयुक्त बाटो भनेको कि तत्कालिन नेकपा (एमाले) संग पार्टी एकता गर्ने, त्यो सम्भव नभए कार्यगत एकता मात्रै भएपनि गरेर एमालेको व्यवस्थित संगठन र अनुशाशित कार्यकर्ताको काँधमा टेकेर आफ्नो निर्णायक अस्तित्व जोगाउने रणनीतिमा प्रचण्ड थिए। कांग्रेससंग कार्यगत एकता गर्दा पार्टीमा बिचलन आएको, प्रतिक्रियाबादी र दक्षिणपन्थी शक्तिसंग सहकार्य गरेको आरोप एकातिर लाग्ने भने अर्कातिर कांग्रेस समर्थकहरुको मत माओबादीलाई कुनै पनि हालतमा नआउने भएकोले प्रचण्डले सहज, सुरक्षित र सफल सहकार्यको लागि एमाले रोजेको कुरामा दुइमत छैन। एकता पछिको उनको रणनीति भनेको नेकपा एमालेका सबै बरिष्ठ र इतिहास भएका नेताहरुमा अन्तरविरोध पैदा गरि पुर्व एमाले गुटलाई ध्वस्त बनाउने, आफ्नो गुटलाई एक-ढिक्का राख्ने र यो बिचमा गरेको शक्ति संचयको आधारमा नेकपा कब्जा गर्ने उनको अर्को रणनीति सायद नेकपा (एमाले) का बरिष्ठ नेताहरुलाई थाहा नहुन पनि सक्छ र अहिले प्रचण्डले त्यहि गर्न खोजिरहेको देखिन्छ। ओली गुटलाई पहिला समाप्त गरि माधब गुटलाई दोस्रो प्रहार र त्यसपछि बामदेव र झलनाथलाई साथमा लिएर आउदो महाधिबेशनमा पार्टी कब्जा गर्ने प्रचण्ड रणनीति बुझ्न आवश्यक छ। त्यसै गरि ओलीको रणनीति पनि कम्जोर कहाँ छ र ? पछिलो पटक नेकपाको ‘सिंह’जस्तो व्यवहार गर्दै आएका ओली नेपालमा शक्तिशाली सरकारको नेतृत्व गर्न चाहन्थे। प्रयोग गर्न र प्रयोग हुन सक्ने अनि आवश्यक पर्दा हदैसम्म लचक हुन सक्ने प्रचण्डको बिशेषतालाई नजिकबाट नियालेका ओलीले अप्ठेरो पात्र भएपनि प्रभावशाली पात्रको रुपमा प्रचण्डलाई नै रोज्न पुगे र एकाएक आफ्ना दलका अरु बरिष्ठ नेताहरुसंगको सल्लाहविना छापामार शैलिमा नै पार्टी एकता गर्ने बोल्ड निर्णय गरेर सबैलाई आश्चर्यमा पारिदिए। उनको यस कदम पछाडी दुई वटा कुरा प्रधान रुपमा अप्रकट थिए। पहिलो: प्रचण्डलाई साथमा लिएर सुविधाजनक बहुमत पुर्याएर ५ बर्षको लागि नै सरकार चलाउने। दोस्रो: माओबादी समुहलाई एमाले समुहमा बिलय गराएर प्रचण्डको व्यक्तित्व र नेतृत्व प्रभावहिन तुल्याइदिने। अहिले ओलीका प्रायजसो कदमहरु यहि दिशातर्फ केन्द्रित भएको देखिन्छ।

पार्टी फुट्दा के होला?

यसरि आ-आफ्ना रणनीतिक स्वार्थ सिद्द गर्न ओली र प्रचण्ड दुवै जना आमने-सामने हुदा नेकपा सिंगो नरहने खतरा यतिबेला देखिएको छ। पार्टी महासचिव बिष्णु पौडेल र प्रबक्ता नारायण काजी श्रेष्ठले निरीहता जस्तो देखिने गरि आफ्नो धारणा सार्बजनिक गरेका छन्। ओलीले प्रचण्डलाई ‘अब संगै हिड्न गाह्रो हुनेभयो, तपाई छुट्टै पार्टी बनाएर जानुहोस्’ भनेर भनेको समाचारहरु पनि बाहिरिएका छन्। प्रचण्डले पनि प्रतिरक्षा रणनीति बनाउन नेकपा सचिवालयका निकट बहुमत सदस्यहरुलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका छन्। यतिबेला दुवै जना अध्यक्षहरु उच्च सतर्कताका साथ आ-आफ्नो तयारीमा व्यस्त रहेका छन्। प्रधानमन्त्री ओलीले आफ्ना बिश्वासपात्रहरुलाई राजधानी बोलाएका छन् भने उता कर्णाली प्रदेश सरकारको पुनर्गठनको काम पार्टी केन्द्रमा बिकसित पछिल्लो घटनाक्रमको कारण अवरुद्द भएको छ। दुवै अध्यक्षलाई यो बाध्यता छ कि पहिलो कदम आफुले उठाउदा पार्टी फुटाएको आरोप लाग्ने भएकोले एक-अर्काको कदमको प्रतिक्षा गरेको स्थिति प्रष्ट देखिन्छ।

यदि नेकपा फुट्यो भने कसको हालत के होला त ? भन्ने प्रश्न यतिबेला सबै भन्दा अहम् रुपमा उठ्न सक्छ। सुरुदेखि अहिले सम्म विश्लेषण गरेको आधारमा भन्न सकिन्छ कि नेकपाको पहिलो नेता भनेको अनेक कमजोरीका बाबजुद पनि केपी ओली नै हुन्। नाकाबन्दीको बेला उनले लिएको राष्ट्रिय अडान, उनले भारतीय नाकाबन्दी बिरुद्द त्यतिबेला लडेको लडाईं, सिंगो देशले ओलीलाई दिएको साथ, उनको नेतृत्वमा दुई पार्टीको एकता, उनकै नेतृत्वमा झन्डै दुई-तिहाइ निकटको नेकपाको शक्ति, नेकपामा करिव ७०% जन-प्रतिनिधि पुर्व एमालेको हुनु र त्यसको नेता केपी ओली हुनु, पछिल्लो पटक कैयौं पटक ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोजेपनि असफल हुनु आदि अनेक कारणले नेकपाको पहिलो नेता केपी ओली हुन् भन्ने कुरा पुष्टि गर्छ। यद्यपि एउटा ठुलो धारको नेतृत्व गर्ने प्रचण्डको भूमिका कम्जोर छ वा हुनुपर्छ भन्ने यो लेखको आशय होइन। जसले पहिलो कदम उठाएपनि यदि पार्टी फुट्यो भने पुर्व माओबादी समुह निकै कम्जोर हुने देखिन्छ। त्यसका केहि आधारहरु यी हुन् :

१) पार्टी एक हुदा मात्रै प्रचण्डले माधब नेपाल, झलनाथ खनाल र बामदेव गौतमको साथ पाउने देखिन्छ। पार्टी फुट्दा यी पुर्व एमाले नेताहरु बाध्यतापूर्वक भएपनि ओलीले नेतृत्व गर्ने समुहमै फर्किनुपर्ने स्थिति आउनेछ।

२) ठुलो समुहको पुर्व एमाले कार्यकर्ता ओलीसंगै रहनेछ र पुर्व एमाले नेताहरु प्रचण्डको पछि लागेर गएमा उनीहरुको अस्तित्व समाप्त हुनेछ। किनकि पुर्व एमाले कार्यकर्ताहरुको साथ उनीहरुलाई हुनेछैन भने पुर्व माओबादी कार्यकर्ताको साथ प्रचण्ड बाहेक अरुलाई हुनै सक्दैन।

३) ओली समुह जति कम्जोर भएपनि दल फुटाएको आरोप प्रचण्डमाथि जानेछ। किनकि जनताले स्थायित्व खोजेर नेकपालाई बहुमत दिएका हुन्। अध्यक्ष परिवर्तन गर्ने र प्रधानमन्त्री परिवर्तन गर्ने व्यवसाय जनताको होइन, त्यो चाँही नेताहरुको व्यवसाय हो भन्ने कुरा स्पष्ट हुन्छ।

४) राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचण्ड भन्दा ओलीले नै प्रभावशाली भूमिका खेलेको देखिन्छ। यसो हुनुको कारण दलको पहिलो अध्यक्ष हुनु र प्रधानमन्त्री हुनुले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु ओलीमा केन्द्रित हुने अभ्यास र ओलीको शैलीले त्यसको भएको हो।

५) प्रजातान्त्रिक अभ्यासमा पुर्व माओबादी भन्दा पुर्व एमाले समुह नै अब्बल देखिन्छ जसले प्रजातान्त्रिक पद्दतिमा प्रभाव कायम गर्न अलि बढी क्षमता राख्दछ।

६) सबै भन्दा प्रधान कुरा पार्टीको कार्यनीतिक दिशा र रणनीतिक उद्द्येश्यको हो। पार्टी अलग गर्नुपर्ने कुनै पनि सैद्दान्तिक मतभेद नहुदा पदको लुछा-चुडीले मात्र गरिने पार्टी बिभाजनको मार संस्थापन इतर पक्षलाई नै बढी हुने कुरा प्रष्ट हुन्छ। राजदुतको नियुक्ति, ‘र’ का प्रमुखको भेट, कर्णालीका मुख्यमन्त्री बिरुद्द अविश्वासको प्रस्ताव प्रकरण, पार्टी भित्र एकल कदम आदि कारणहरुले नै पार्टी फुटलाई पुष्टि गर्न सक्दैनन् तर यसको अर्थ यो होइन कि ओली नै आजीवन नेता हुनुपर्छ। कम्तिमा उनको नेतृत्वमा शक्तिशाली सरकार बनेको छ र यो पुरा अवधि चल्नुपर्छ भन्ने जनताको ‘म्यान्डेट’ हो। उनले गर्ने गल्तिहरुलाई आगामी अर्को चुनावमा वा दलको महाधिबेशन मार्फत दण्डित गर्ने उपयुक्त र बैधानिक सुरक्षित बाटो प्रयोग गर्नु नै प्रचण्डको हितमा हुने देखिन्छ। यसो भन्दै गर्दा ओली सरकारका कैयौं कमजोरी र असफलताहरु छन् जसलाई ओलीले सच्याउन सकेनन् भने जनताबाट दण्डित हुनु पर्ने नै छ।

( ‘चन्द’ राजनीति तथा कुटनीति सम्बन्धि विश्लेषक र जानकार हुन् ।- सम्पादक )

Source: https://everestawaj.com/2020/11/02/2306/?fbclid=IwAR114Jwir2LpL2iYfVJgaLSGTjSeRbVFgtFjdE4YbXY02Fd1FJnjpDn9OSc

Share

Add Your Comments

Your email address will not be published. Required fields are marked *