हरि चन्द “अग्निपुन्ज“
काठमाडौं । जनबादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ आज अपराह्न नेपाल आउँदै छन् । उनको भ्रमणलाई सबै तिरबाट निकै चासोको रूपमा हेरिएको देखिन्छ । नेपाल सरकारले राष्ट्रपति सीसँग बाह्रवटा प्रस्तावहरू पेस गर्ने समाचार सञ्चार माध्यममा आएको छ । यही शिलशिलामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल-चीनबिच हुने सम्भावित सम्झौताबाट नेपाललाई हुने वा हुन सक्ने विभिन्न बहु-आयामिक फाइदाहरू संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ ।
१. नेपालको जटिल भू राजनीतिमा नेपाल अनुकूल हुने गरी बदलाव आउने छ ।
२. चिनियाँ संस्करणको विश्वव्यापीकरण (China led globalization) मा नेपाल एक निकै महत्त्वपूर्ण साझेदार भएको सन्देश जानेछ ।
३. नेपालको भू राजनीतिमा खेल्ने पात्रहरू सघन रूपमा क्रियाशील हुन खोजे पनि नेपाललाई हालसम्म यो वा त्यो कोणबाट रणनीतिक दबाबमा राख्ने अन्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू नेपाल मामलामा रक्षात्मक हुँदै जानुपर्ने स्थिति आउन सक्छ ।
४. नेपाल-चिन सुमधुर सम्बन्धले नेपालको अरू शक्तिकेन्द्रहरुसंगको सम्बन्धलाई स्वाभिमानी सम्बन्ध (Sovereign Relations) को दिशामा अघि बढ्ने वातावरण पैदा गर्ने सम्भावना हुन्छ ।
५. नेपालको विश्व सम्बन्धको विविधीकरणको युग व्यवहारिक रूपमै अघि बढ्ने सम्भावना रहन्छ ।
६. चीनसँगको रोड, रेल, एयर ’कनेक्टिभिटी’बाट सुदूर भविष्यसम्मै नेपालले चिन र बाँकी विश्वँंग निर्बाध रूपमा आफ्नो व्यापार प्रवर्धन गर्ने ढोकाहरू खुल्ला हुने चरण सुरु हुने देखिन्छ ।
७. व्यापार देशको उत्पादनसँग सिधै जोडिन्छ । जब व्यापार विविधीकरणको युग सुरु हुन्छ, नेपाललाई आफ्नो उत्पादनलाई भव्य (Massive Production) बनाउनै पर्ने बाध्यता सुरु हुनेछ र नेपाल उत्पादनको दिशामा चमत्कारिक रूपमा अघि बढ्नै पर्ने अवस्था सृजना हुने छ।
८. “ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्क“ अन्तर्गतको नेपाल-चिन कोरिडोर BRI को सातौँ करिडोरलो रूपमा विकास हुने चरणको सुरुवात हुनेछ।यस अन्तर्गत नेपाल-चिन रेल लिङ्क, रोड लिङ्क, एयर लिङ्क, ट्रान्समिसन लाइन, टेलिकम्युनिकेसन, नेपालले चीनबाट ७ वटा सामुन्द्रिक र सुख्खा बन्दरगाह बाट पाउने गरी गरिएको पारवहन सुविधा सम्बन्धी सम्झौता, नेपालको व्यापार प्रवर्धनको लागि चीनले नेपाललाई तिब्बतका राजमार्ग प्रयोग गर्न दिने सम्झौता आदि पर्दछन् र पार्नुपर्दछ ।
९. ट्रान्स हिमालयन मल्टिडिमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत निर्माण हुने भौतिक पूर्वाधारको कारण नेपालमा रोजगारीको अवसर बढ्ने देखिन्छ । नेपालमा अवसर हुँदा बिदेसिएका युवाहरू नेपाल फर्किने छन् । बिछोडिएका परिवारको बिचमा मिलन हुनेछ।नेपाली युवाहरूको परिवारको मनोबैग्यानिक पक्ष सबलीकरण हुनेछ।वैदेशिक रोजगारको कारण श्रीमान् श्रीमतीबिचमा हुने छोडपत्रको अवस्थामा न्यूनीकरण हुनेछ। यसले नेपाली समाजमा सद्भाव, एकता, खुसी, ऊर्जाको बढोत्तरी हुनेछ।समग्रमा समाजका यौन विकृति अन्त्य हुने छन्।सामाजिक, पारिवारिक, तथा मनोवैज्ञानिक रूपमा समाज सकारात्मक दिशातिर अघि बढ्ने सम्भावना हुनेछ ।
१०. सङ्कटको बेला देशको लागि जन स्तरबाट लड्ने जनशक्ति नेपालमै जगेडा रहनेछ ।अहिले पचासौँ लाख युवा शक्ति विदेशमा रहेको अनुमान गरिएको छ ।
११. जब भौतिक पूर्वाधारको निर्माण तीव्र बन्ने र रोजगारी सृजना पनि सोही अनुपातमा बढ्नेछ, तब यसले आर्थिक चलायमान तीव्र बन्ने र देशको अर्थतन्त्र र बलियो बन्दै जाने देखिन्छ ।
१२. यसबाट देश अति कम विकसित राष्ट्रबाट बिकाशशील राष्ट्रमा रूपान्तरण हुने जग तयार हुँदै जाने देखिन्छ र विकसित राष्ट्रमा परिणत हुने यात्रामा ’क्याटालिष्ट’ को भूमिका निर्वाह गर्नेछ ।
१३. चिनियाँ बेल्ट एण्ड रोडले हालसम्मका विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्दान्तहरुलाई चुनौती दिँदै अघि बढ्ने देखिन्छ । किनकि Western neo-liberal discourse भन्दा यो भिन्न विशेषतामा अघि बढ्ने हुँदा यसले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ सिद्धान्त बन्ने ढोका खोल्ने देखिन्छ । भविष्यमा नेपालमा पनि यसको दुवै खाले असर हुँदै जाने देखिन्छ ।
१४. समग्रमा सी जिनफिङको नेपाल भ्रमण ऐतिहासिक मात्र होइन, कोशे ढुङ्गा बन्न सक्छ । तर नेपालले यो भ्रमणलाई नेपालको हितमा पार्न प्रशस्त तयारी पनि गरेको होला । Proactive Diplomacy, massive, research, र institutional collaboration लाई तीव्र बनाएर अघि बढ्नुपर्दछ । बोलीमा होइन, कामले प्रमाणित गर्नुपर्दछ, परिणामले आफै हल्ला गर्दछ, राज्यको निकाय मौनताका साथ परिणाम मुखी काममा दिनरात खट्नुपर्दछ, धेरै हल्ला मात्रै गर्नुको कुनै अर्थ छैन ।
१५. BRI बाट हुन सक्ने सम्भावित जोखिमबाट बच्ने कला र कौशल पनि नेपालसँग हुनुपर्दछ । BRI लाई नेपालको सन्दर्भमा बुझ्नुपर्दछ, चीनको प्रसङ्ग र सन्दर्भमा होइन, नत्र हामी BRT को कारिन्दा मात्र हुन सक्ने खतरा रहन्छ, साझेदार र अंशियार होइन । हाम्रो कमजोरीले BRI बाट हुने लाभबाट हामी चुक्न सक्छौँ, अरूको कारणले होइन । सबै कुरामा सचेत हुँदै अघि बढ्न जरुरी हुनेछ ।
Source: https://aarthiknews.com/news/8021?fb_comment_id=2541364715943233_2542126445867060&fbclid=IwAR20-4oU57YEpwID5hxA5yware1JHHZR8wx5x2ZWbTW0K4Md3hzQ0b678PE